
यस्तोमा रियललाई समग्रमा ३–२ को निर्णायक अग्रता प्राप्त भयो । रोनाल्डोले एक मिनेटको अन्तरमा दुई गोल गर्दै १७ मिनेट भित्र रियललाई २–० को अग्रता दिलाए ।
तर दसौं पल्ट युरोपेली विजेता रहेको रियलले सेमिफाइनल पुर्याउने गोलका लागि खेलको अन्तिम १३ मिनेट कुर्नु परेको थियो । रोनाल्डोको फ्रि–किक उनको ह्याट्रिकमा परिणत भएको थियो ।
‘आज जादुयी रातको आवश्यकता थियो र त्यस्तै भयो,’ रोनाल्डोले भने, ‘अन्त्यमा सबै उत्कृष्ट रह्यो । मेरो रगतमै गोल रहेको छ । त्यसैले म आफ्नो टिमका लागि लगातार गोल गरिरहन चाहन्छु ।’
रियलका प्रशिक्षक जिनेदिन जिदानले अपूर्व पुनरआगमनमा सबैको योगदान रहेको माने, तर रोनाल्डोको योगदानलाई विशेष माने ।
‘रोनाल्डोले त्यही गरे, जसका लागि उनी जानिन्छन् । उनी विश्वकै उत्कृष्ट खेलाडी हुन्,’ फ्रान्सेली जिदानले भने, ‘रोनाल्डोलाई पूरा टिमको आवश्यकता भने छ, किनभने म टिमबारे मात्र चर्चा गर्न चाहन्छु । रियलको यो सफलता सबैको योगदानले सम्भव भएको हो ।’
‘तर रोनाल्डो विशेष छन्, किनभने सबै तीन गोल गर्न सक्षम हुँदैनन्,’ उनले थपे । उल्भबर्गका प्रशिक्षक डिटर हेकिङले आफ्नो डिफेन्स कमजोर भएको स्वीकारे । उनले भने, ‘हामीले डिफेन्समा राम्रो गर्नुपर्ने थियो । सेमिफाइनल पुग्नु थियो भने हामीलाई गोल पनि चाहिने थियो । रियलका तीन गोलमध्ये दुई डेड बलको स्थितिमा सम्भव भएको थियो, त्यसले पनि प्रस्ट पार्छ, हामीले डिफेन्समा वास्तवमै राम्रो गरेनौं ।’