अमेरिकी दूतावासले काठमाण्डौस्थित पर्यटक तथा विद्यार्थी भिसाका आवेदकका लागि कागजी प्रक्रिया घटाएको छ । यही जेठ 19 बाट लागु हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले भिसाको अन्तर्वार्ताका लागि उपस्थित हुँदा आवश्यक थोरै मात्र कागजपत्र ल्याए पुग्ने दुतावासले जनाएको छ ।आवेदकहरूलाई सम्भावित छलकपटबाट जोगाउनका साथै उनीहरूको समय र पैसा बचत होस् भनी उनीहरूले अबदेखि बैंक मौज्दात विवरण, जग्गासम्बन्धी कागजात, निमन्त्रणा पत्र वा त्यस्तै अन्य कागजपत्र ल्याउनु नपर्ने दुताबासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नयाँ प्रावधान अनुसार भिसाका लागि आवेदन दिने व्यक्तिहरूले नयाँ र पुरानो राहदानी, डिएस–160 कन्फर्मेशन पेज, आवेदन शुल्क भुक्तानी रसिद, फोटो र विद्यार्थी भिसाका लागि आई–20 र transcript हरु मात्रै ल्याए पुग्ने दुताबासले जनाएको छ । अन्तर्वार्तामा ल्याइएका सम्पूर्ण शैक्षिक transcript हरूको दुताबासले नै प्रमाणीकरण गर्ने भएको छ ।
हालैका महिनामा कन्सलटेन्सीहरूलाई अन्तर्वार्ताका लागि कागजपत्र तयार पार्न वा प्राप्त गर्न नगद रकम तिरेको र पछि त्यस्ता कागजपत्रहरू कन्सुलर अधिकृतहरूले नखोज्ने कुरा थाहा पाएको गुनासो बढेपछि दुताबासले नयाँ व्यवस्था लागु गरेको हो ।