नयाँ वर्षको स्वागतमा प्राकृतिक फूल

सिरको सल्हेश फूलबारीमा नयाँवर्षको स्वागतमा बैशाखमाहारम प्रजातिको रुखमा फूल्ने सुनाखरीको फूल ।
वैशाख १, २०७३- नयाँ वर्ष २०७३ को स्वागतमा प्राकृतिक रुपमा जिल्लाको लहान नगरपालिका १२ स्थित सल्हेश फूलबारीमा बुधवार अलौकिक फूल फूलेको छ । हारम प्रजातिको रुखमा उक्त फूल फूलेको हो ।

फूलबारीमा रहेको २ वटा रुखमा माला आकारको फूल फूलेको हो । फूलबारीस्थित मालिन गहबरसँगै रहेको हारमको अग्गलो रुखमा र सोहीसँगै रहेको अर्को सोही प्रजातिको रुखमा फूल फूलेको छ । उक्त फूल प्रत्येक वर्ष बैशाखमा फूल्ने गरेको छ ।

उक्त फूल सुनाखरी रहेको जिल्ला वन कार्यालयका सहायक अधिकृत अम्रेन्द्र यादवले बताए । पूर्व पश्चिम राजमार्गदेखि ५ सय मिटर दक्षिणमा रहेको उक्त सल्हेश फूलबारी १२ विघा क्षेत्रफलमा फैलिएको छ । फूलबारी क्षेत्रमा १ सय ८ प्रजातिको रुख बिरुवा रहेको उनले बताए । ‘सुनाखरी फूल विभिन्न ठाउँमा फूल्ने गरेको तर सल्हेश फूलबारीमा फूल्ने फूलको विशेषता अर्कै छ’, उनले भने, ‘फूलबारीमा रहेको हारम प्रजातिको रुखमा प्रत्येक वर्ष बैशाख १ गते नै फूल फूल्दै आएकोले सबैको आकर्षणको केन्द्र बन्दै आएको हो ।’

उक्त फूल हेर्नेको बिहानैदेखि घुइँचो लागेको छ । फूल हेर्ने प्रत्येक वर्ष बैशाख १ गते मेला नै लाग्ने गरेको हो । मेला व्यवस्थित गर्न गठित समितिका संयोजक श्याम सिंहले २ लाख बढी श्रद्धालु भक्तजन मेला भर्न आउने लक्ष्य रहेको बताए । उनले सिरहा, सप्तरी, धनुषा, महोतरी, उदयपुर, सुनसरी, मोरंग, झापा, सर्लाही रौतहटलगायतको जिल्ला र भारतको विभिन्न प्रान्तबाट फूल हेर्न र मेला भर्न भक्तजनहरु आउने गरेको बताए । मेला भर्न आउने भक्तजनहरुले फूलबारीभन्दा पश्चिममा रहेको सल्हेशको मन्दिरमा समेत पूजा गरेर भाकल गर्ने गरेको छ । युवायुवतीको लागि यो फूलबारी मेला आकर्षणको केन्द्र बन्दै आएको छ । युवायुवतीहरुले आजको दिन मेलामा मन मिल्ने साथिसँग प्रेम प्रस्ताव समेत राख्ने गरेको स्थानीय सन्तोष यादवले बताए । सल्हेश फूलबारीमा राखेको प्रेम प्रस्ताव युवा युवतीले स्विकार गरे सफल हुने जन विश्वास समेत रहेको छ ।

उक्त मेलाको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व समेत रहेको छ । सोह्रौं शताब्दीको उत्तराद्र्धमा राज महिशोथा गण राज्यका राजा सल्हेशको प्रेमिका कुशमा मालिनले उक्त फूलबारी लगाएको किंवदन्ति रहेको छ । कथित दलित दुसाध जातिका राजा सल्हेशलाई यस क्षेत्रमा लोक नायकको रुपमा समेत पूजा गर्ने गरिन्छ । चीनका शासकले किँरात गणराज्यमा आक्रमण गरि विजय भएपछि विराट राज्यमाथि आक्रमण गर्न गइरहेको खबर प्राप्त भएपछि प्रतापी, वन जंगल घुमेर रमाउने प्रकृतिका राजा सल्हेशले आक्रमण गरि चीनीया शासकलाई सूचना दिने समेत नबाँचेको प्रसिद्ध अमेरिकन इतिहासकार पार्जिटरले लेखेको छ ।

राजा सल्हेश हाल सिरहा सदरमुकामस्थित महिशोथा दरबारमा बिहानको नित्यकर्म गरेपछि अखडामा गएर कुस्ती खेलेपछि मानिक दहमा स्नान गरि फूलबारीमा आएर फूल टिपेपछि पतारीस्थित कुल देउताको पूजा गरेर आफ्नो दरबारमा फर्किने गरेको लोकगाथा स्थानीय वृद्धहरुले गाउने गरेका छन् । राजा सल्हेश घोड सवारीका शौकिन थिए । राजा सल्हेशले रुचाउने कुस्ती खेल अहिले पनि यस क्षेत्रमा विद्यमान रहेको छ ।

यस फूलबारीमा प्रेम विवाह गरे दाम्पत्य जीवन सफल हुने जन विश्वास समेत रहेको छ । प्रेम विवाह गर्ने जोडीहरु आएर फूलबारीमा विवाह गर्ने गरेको मालिन गहबरका पुजारी नागेस्वर सिंह धामीले बताए । उनले गत विगत बर्षभन्दा यस बर्ष फूल हेर्न र पूजा गर्न आउनेको संख्यामा बृधी भएको बताए ।
Share on Google Plus

About Annapurna Times

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.